समाज

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि शुरु

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि शुरु

काठमाडौं । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि शुुरु भएको छ । 

बौद्ध धर्मावलम्बीले धुमधामका साथ यो पर्व मनाउने गर्छन् । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन अर्थात वैकुण्ठमा बास परोस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घरनजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रूपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने यो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गरेका छन् । धर्म सञ्चय गर्ने महिनाका रूपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । 

भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ । नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ । 

यसै अवधिमा हिन्दूको जनैपूर्णिमा, गाईजात्राका साथै तीजलगायत पर्व पर्ने गर्छ भने बौद्ध मार्गीले पञ्चदान पर्व मनाउने गर्छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *