काठमाडौ । साउनको तेस्रो सोमबार आज पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल देवघाटधाममा बोलबम मेलामा भक्तजनको उत्साहजनक उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ ।त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो छ । देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् । चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको छ ।