मुख्य समाचार

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ शुरुआत गरिएको बताएका छन् । 

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आज उद्घाटन गर्दै उनले भारतलगायत विदेशमा उपचारका लागि जानेको सङ्ख्या घटाउन अस्पतालका सुविधा विस्तार गर्दै लगिएको बताए । उनले  स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता जनाए । 

मन्त्री पौडेलले यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेपछि वैशाखभरि सघन एकाइ सञ्चालनको तयारी गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्दै बालबालिकाको उपचारका लागि बालचिकित्सा सघन एकाइको शुरुआत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जनाउँदै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार र विस्तार गर्दै जाने उल्लेख गरे । “हामीसँग आर्थिक अभाव छ, यसलाई मध्यनजर गर्दै अधिकतम स्रोतको उपयोग गरेर नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गरिरहेका छौँ”, उनले भने । 

आफूले गरेको पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत रहेको जनाउँदै स्वास्थ्य मन्त्रीले क्यान्सर उपचारलाई सहज, पहुँचयोग्य र सुलभ बनाउन यथासम्भव काम गरिने बताए । आगामी आर्थिक वर्षमा क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले जानकारी दिए । 

एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाह चार र साधारण शय्या सात रहेका अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए । अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *