अर्घाखाँची । अर्घाखाँचीमा धान खेती हुने क्षेक्रलको ९४ प्रतिशतमा धान रोपाइँ गरिएको छ ।
अघिल्लो वर्ष भन्दा यो वर्ष पानी कम परेपछि जिल्लाका विभिन्न स्थानमा रहेको ६ हजार ३ सय ५४ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । अर्घाखाँचीमा ६ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा आइतबार सम्म ९४ प्रतिशत अर्थात ६ हजार ३ सय ५४ हेक्टरमा धान रोपाइँ गरिएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ४ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा अहिले त्यो क्षेत्रफल घटेर ६ हजार ३ सय ५४ हेक्टरमा झरेको छ । धान खेती गरिएको जमिनको क्षेत्रफल घटेपनि धानको उत्पादनमा भने कमी नआएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिएका छन् ।
७ वर्ष अघि आर्थिक वर्ष २०७५/७६ मा २४ हजार १ सय ३१ मेट्रिक टन धान उत्पादन भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ८ सय ८७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीको तथ्यांक रहेको छ ।
खेती गर्ने प्रविधिको विकास, उन्नत तथा हाईब्रीड बिउको प्रयोग, प्रांगारिक तथा रासायनिक मलको प्रयोग जस्ता कारणले उत्पादनमा कुनै कमी नआएको केन्द्रको भनाइ छ । युबाहरुको विदेश पलायनले रोपाइँको लागि खेतलाको अभाव भएको कृषकको भनाई छ ।
जिल्लाका झण्डै ४० हजार युवाहरु रोजगारीको लागि बिदेश गएको विभिन्न संघ सस्थाको तथ्यांक छ । जसमा भारतमा गएका युबाहरुको संख्या समावेस छैन ।