समाज

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

कर्णाली । उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।

उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारबाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ मार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आर्थिक वर्षमा दर्ता भएका छ सय १३ गरी छ सय नौ मुद्दामा ७८ दशमलव ५८ प्र्रतिशत मुद्दा फर्छ्योट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछ्र्योट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्योट गरिने लक्ष्य राखिएको छ ।

न्यायाधीश भण्डारीले पुनरावेदन अन्तर्गत देवानी ८५, सरकारवादी फौजदारी पाँच सय ४१, दुनियावादी फौजदारी ४४ गरी छ सय ७०,  रिट ९४ र शुरु मुद्दा ११ गरी सात सय ७५ मुद्दामा छ सय नौ फछ्र्योट भएको र एक सय ६६ फर्छ्योट हुन बाँकी रहेको जनाए । 

त्यसैगरी, प्रतिवेदन अन्तर्गत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नम्बरबमोजिम एक सय ३५ र मुलुकी देवानी कार्यविधि संहिताको एक सय ५७ नम्बरबमोजिम १७ मुद्दा गरी एक सय ५२ मा एक सय २९ फर्छ्योट र १५ फर्छ्योट हुन बाँकी रहेको उनले बताए । 

मुद्दाको विषय अनुसार जबर्जस्ती करणीसम्बन्धी एक सय ३१, ज्यान मार्ने कसुरका एक सय आठ, लागूऔषधका ७३, विवाहसम्बन्धी ६१, चोरीका ४५, वन तथा वन्यजन्तुसम्बन्धी १७, जातीय छुवाछूतसम्बन्धी ३१, हातहतियार खरखजनाका छ, मानव बेचबिखन तथा ओसारपसारका पाँच, रिट निवेदन ९४ र अन्य दुई सय चार मुद्दा दर्ता भएको न्यायाधीश भण्डारीले बताए । 

अन्तक्र्रियामा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले चालु आर्थिक वर्षमा एक हजार मुद्दा दर्ता हुने र सात सय १२ मुद्दा फर्छ्योट हुने लक्ष्य राखिएको बताए । उनले कर्णालीमा न्यायालयले सम्पादन गर्ने मुद्दासम्बन्धी समाचार कम मात्र आउने गरेको बताउँदै गहिरो अध्ययन–अनुसन्धानबाट न्यायसम्बन्धी समाचार सम्प्रेषण गर्न कर्णालीका पत्रकारहरूलाई अनुरोध गरे। न्यायालय संविधान र कानूनबाट मात्र प्रभावित हुने बताएको कामु मुख्य न्यायाधीश भट्टराईले भीड वा अन्य कुनै दबाबमा अदालत नडगमाउने प्रष्ट्याए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *