काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा ४ सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तु सम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो । गैँडा मुद्दामा आठ, बाघ सम्बन्धी मुद्दामा एक, बँदेलका २६, पन्क्षीका तीन, सालकका पाँच, माछाका एक सय २६, ढुङ्गागिट्टि, बालुवाका पाँच, घाँसदाउँराका एक सय ४१ र निगुरोका ८७ जनालाई पक्राउ गरिएको बताइएको छ ।
अनुमति बिना निकुञ्जभित्र प्रवेश गर्ने २३, निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गर्ने छ, हिउँचितुवा कसुरमा दुई, चितुवामा पाँच र च्याउसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ ।
निकुञ्जले दर्ता गरेका मुद्दामध्ये १४ वटाको फैसला गरिएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दासहित ती मुद्दा फैसला गरिएको हो ।