काठमाडौं । प्रसिद्ध नेपाली पप गायक अनिल सिंहले करिब १५ वर्षको कानूनी संघर्ष पछि आफ्नो २२ गीतहरूको डिजिटल अधिकार पुनः पाएका छन्।
म्युजिक डटकम र म्युजिक नेपालले ती गीतहरू उनलाई फिर्ता दिएका हुन्। गायक सिंहका अनुसार, दुई एल्बमका २० गीत तथा ‘प्रेमपत्र’ र ‘मैले जानीसकेँ’ नामक दुई एकल ट्रयाकसहित कुल २२ गीत उनले आधिकारिक रूपमा फिर्ता पाएका छन् ।
ती सबै गीतमा अब अडियो अधिकार सिंहकै रहनेछ भने पहिल्यै बनेका म्युजिक भिडियोको अधिकार भने म्युजिक डटकम कहाँ रहनेछ। सिंह र संगीत उत्पादन तथा वितरण कम्पनी म्युजिक डटकमबीच सहमति जुटेपछि उनले गीत आधिकारिक रूपमा फिर्ता पाएका हुन् ।
केही दिनअघि म्युजिक नेपाल र म्युजिक डटकमप्रति आक्रोशित हुँदै अनिलले सामाजिक संजालमा चेतावनीपूर्ण भिडियो हालेका थिए । त्यसको केही दिनपछि द्धिपक्षीय सहमति जुटेको हो ।
गायक सिंहले सामाजिक सञ्जाल मार्फत ती दुई संगीत कम्पनीले आफ्नो करिअर र जीवन नष्ट पार्न लागेको भन्दै भिडियो सार्वजनिक गरेका थिए। भिडियोमा उनले आफू आत्महत्या गर्न बाध्य बनिएको दाबी पनि गरेका थिए। यो विषय मिडियामा व्यापक बनेपछि ती कम्पनीहरू संवादमा आए र सबै गीत फिर्ता गर्न सहमत भए ।