एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेका मागबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गरेका छन् ।
शनिबार ट्रम्पले जेलेन्स्कीसँगको कुराकानीमा पुटिनको मागबारे जानकारी गराएका हुन् । छलफलका क्रममा पुटिनले युक्रेनको भूभाग दाबी गरेको र सो कुरा ट्रम्पले पछि जेलेन्स्कीलाई फोनमा जानकारी गराएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा युक्रेनमा शान्ति स्थापनाबारे तीन घन्टा छलफल भएको थियो । सो क्रममा पुटिनले किभ सम्पूर्ण डोनेत्स्क प्रान्त त्याग्न तयार भए आक्रमण रोक्ने प्रस्ताव गरेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने सो प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । रूसले युक्रेनको पाँच भागको एक भाग जमिन कब्जा गरिसकेको उनको भनाइ छ । ट्रम्पले भने युक्रेन स्थायी शान्तिका लागि तयार हुनुपर्ने बताएका छन् । रूस युक्रेनको तुलनामा कैयौं गुणा शक्तिशाली भएकाले शान्तिका लागि आवश्यक सम्झौताका लागि तयार हुनुपर्ने उनको भनाइ छ ।
ट्रम्पले जेलेन्स्कीलाई पुटिनसँग भएको वार्ता, रूसको माग र वार्ताबारे छलफल गर्न वाशिङ्टन डिसी बोलाएका छन् । सोमबार जेलेन्स्की छलफलधा लागि ह्वाइट हाउस पुग्ने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि युरोपेली नेताहरूलाई अगस्त २२ मा पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग त्रिपक्षीय बैठक आयोजना गर्न चाहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले युरोपेली नेताहरूलाई सोमबार ह्वाइट हाउस बैठकमा सहभागी हुन पनि निम्तो दिएका हुन् । जर्मन चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्की र ट्रम्पबीचको सोमबारको भेटपछि त्रिपक्षीय बैठक हुने अपेक्षा गरिएको बताएका छन् । हालसम्म रुसी पक्षले त्रिपक्षीय बैठकप्रति सार्वजनिक रूपमा प्रतिबद्धता जनाएको छैन ।