काठमाडौं । बाहिरि मुलुकमा श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्केका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो प्रश्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको जानकारी दिएका हुन् ।
मन्त्री पौडेलले आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव लैजाने गरी तयारी गरेको बताए ।
मन्त्री पौडेलले प्रश्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने बताए । यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति र खर्चका कारणले उपचार नहुने स्थिति एवं कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति तथा रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य हुने उनको विश्वास छ ।
मन्त्री पौडेलले भ्रमणका क्रममा छिमेकी मुलुक भारतको प्रतिनिधिहरुसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरुमा दुई देश बीचमा सम्झौता गर्नेगरी अघि बढ्ने कुरा भएको बताए । छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बंगलादेश, श्रीलंका, मल्दिभ्स, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरुसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको उनले बताए ।