काठमाडौं । सयममा वर्षात् नहुँदा महोत्तरीमा धान रोपाइँ न्यून भएको छ ।
मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो । महोत्तरीमा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ ।
तर, अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको हो । सामान्यतयाः महोत्तरीसहितका मधेसका किसानले जेठ तेस्रो साताभित्र ब्याड राखिसक्ने र असार भित्र रोपाइँ सक्दछन् । यही असार १५ मा धान दिवस मनाइरहँदा यहाँको रोपाइँ दुई–तीन प्रतिशतभित्र रहेको छ ।
महोत्तरीका कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर पुग्ने सिँचाइ व्यवस्था छ । यसपालि लामो खडेरीले कुुलोको पानीको स्रोतको मुहान नरसाउँदा यस्ता जग्गामा पनि रोपाइँ कम भएको जनाइएको छ ।