एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट चार दिने मध्यपूर्वी मुलुकको भ्रमण शुुरु गर्दैछन ।
उनले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालको प्रारम्भिक यात्राका निम्ति तेलको धनी साउदी अरब छानेका हुन् । उनी चार दिन खाडी मुलुकमा रहनेछन । उनले साउदीसँगै कतार र संयुक्त अरब इमिरेट्स यात्रा गर्नेछन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खाडी मुलुकहरूको क्षेत्रीय तथा विश्वव्यापी प्रभाव हुनुका साथै उनीहरूले अमेरिकामा व्यापक लगानी समेत गर्न सक्ने भएकाले खाडी क्षेत्रको भ्रमणमा ट्रम्प निस्केका हुन् ।
साउदी अरेबियाबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने अनुमान गरिएको छ । त्यस्तै यूएईले अमेरिकामा दस वर्षमा १४ खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी राष्ट्रपति विशेष गरी सैन्य सम्झौतासहितका लगानीका वाचालाई कार्यान्वयनमा लैजाने सम्भावना छ ।
ट्रम्पले युद्धद्वारा ध्वस्त भएको क्षेत्रको पुनर्निमाणका निम्ति खाडी मुलुकहरूसँग आर्थिक मद्दत खोज्ने समाचारमा उल्लेख छ । इजरायल हमास युद्ध लगायतमा पनि छलफलको सम्भावना रहेको छ ।

