काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ । आगामी आथिक वर्षको बजेट तथा पार्टीको आन्तरिक गतिविधि बारे छलफल गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीले बैठक बोलाएका हुन् ।
एमाले बैठकमा गृह मन्त्री रमेश लेखकमाथि लागेको आरोप लगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृह मन्त्रीको राजीनामा माग हुँदै आएको छ ।
बैठकमा राजसंस्था समर्थकहरूले १५ गतेदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल हुने सम्भावना छ । आजै प्रधानमन्त्री पार्टी अध्यक्ष ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाध्यक्षक्षहरुको भेलालाई सम्बोधन गर्दैछन । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तहदेखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी स्वरुप ललितपुरमा भेला बोलाइएको हो ।