काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले दशौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ ।
बिहीबार रातिसम्म चलेको बैठकले दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत नगर्ने निर्णय गरेको हो । यो सँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी छिन् । उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्नबाट रोकिने भएका छन ।
बैठकमा पूर्वराष्ट्रपति भण्डारीको जिम्मेवारी, सरकारको नेतृत्व गरेको एक वर्षको समीक्षालगायत विषयमा छलफल भएको छ । भण्डारीको जिम्मेवारीको विषयमा छुट्टै बैठक बसेर त्यसबारे छलफल गरिने भएको छ ।
सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सचिवालय बैठकले पदाधिकारी संख्या १५ रहने निर्णय गरेको छ । केन्द्रीय कमिटीको आकार भने २ सय ५१ सदस्यीय कायम हुने भएको छ । त्यस्तै, केन्द्रीय कमिटीभित्र पोलिटब्युरो र स्थायी कमिटी रहने सचिवालयको प्रबन्ध हटाएर स्थायी कमिटी मात्रै रहने व्यवस्था हुने भएको छ ।
पार्टीमा सदस्य र संगठित सदस्य दुई खाले सदस्य रहने व्यवस्था पनि नेकपा एमालेले गरेको छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ ।
एमालेले महाधिवेशनका लागि तयारी गर्न आज पोलिटब्युरो तथा साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष बैठकले छ । देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको पनि एमालेको ठहर छ । सुशासन र सेवा प्रवाहमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।