समाज

एमालेको केन्द्रीय समिति बैठक आज सकिँदै, पार्टीमा कुनै मतभेद नभएको अध्यक्ष ओलीको भनाइ

एमालेको केन्द्रीय समिति बैठक आज सकिँदै, पार्टीमा कुनै मतभेद नभएको अध्यक्ष ओलीको भनाइ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । 

बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन/तीन मिनेट बोल्ने समय दिइएको छ ।

नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले पार्टीमा कुनै मतभेद नभएको भन्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालय च्यासलमा सोमबारबाट शुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक शक्ति बनाउने गरि मिशन ८४ को तयारी गर्नुपर्ने भएकाले एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

अध्यक्ष ओलीले अहिले एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेकाले यसकाविरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले पार्टी फुटाउने वा बिभाजन गर्ने तत्वहरुबाट पार्टीलाई जोगाउनका लागि सिंगो पंक्ति एकतावद्ध भएर लाग्न समेत केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताका बिषयलाई केन्द्रीय कमिटीले निर्णय गरेर अन्तिम टुङ्गो लगाउने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका छन् । सोमबारको बैठकमा ४९ जना केन्द्रीय सदस्यहरुले विधान संशोधन प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । 

केन्द्रीय समितिको बैठक आज पुनः बस्नेछ । विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ । आगामी भदौ २० देखि २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *