समाज

कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सम्पन्न

कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सम्पन्न

काठमाडौं । मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भएको छ । 

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पहाडी जिल्लाका धेरै जसो ठाउँमा रोपाइँ भइसकेको छ । सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतमा रोपाइँ सकिएको छ । 

मौसमले साथ दिएर बेलैमा धमाधम खेत रोप्न पाएपछि किसान हर्षित भएका छन् । निर्देशनालयका अनुसार मध्य असारसम्म सबैभन्दा बढी जुम्ला, हुम्ला, डोल्पामा ९०/९० प्रतिशत रोपाइँ भएको छ । मुगुमा ४०, रुकुम–पश्चिममा ५५ र जाजरकोटमा १७ प्रतिशत खेतमा रोपाइँ गरिएको छ । 

त्यस्तै, सल्यानमा ६५, दैलेखमा ३२, कालीकोटमा ४२ र सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ । कर्णालीमा धान खेती हुने ४१ हजार ५०५ हेक्टर क्षेत्रफलमध्ये २९ हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो । 

यस पटक समयमै आधा रोपाइँ सकिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशमा खास गरी मार्सी, हाइब्रिड, शङ्कर, खुक्खा जातका धान लगाउने गरिन्छ । यी जातका धानको उत्पादनसमेत बढी हुने गरेको छ । विगतमा जस्तो रासायनिक मल अभावको समस्या नहुँदा पनि किसानले समयमै धान रोप्न पाएका हुन् । 

कर्णालीमा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मल बिक्रीवितरण गर्दै आएका छन् । नेपाल सरकारले रासायनिक मलका लागि विनियोजन गरेको बजेटमध्ये साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत बजेट प्राप्त गर्छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *