एजेन्सी । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसंघले बताएको छ ।
राष्ट्रसंघका अनुसार ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सहायता सामग्री भने वितरण भएको छैन । इजरायलले आइतबार गाजामा केही मात्रामा खाद्यान्न प्रवेश गर्न अनुमति दिन सहमति जनाएको थियो । तर राष्ट्रसङ्घले सहमति अनुसार सहायता वितरण गर्न नसकेको बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार ९३ वटा ट्रक गाजामा प्रवेश गरेका छन् । ट्रकमा आटा, शिशु खाना, चिकित्सा उपकरण र औषधिसहितको सहायता सामग्री रहेका छन । विश्वव्यापी विज्ञहरूले गाजामा अनिकालको चेतावनी दिएर इजरायलले गाजामा सहायता सामग्री आपूर्ति रोक्न नहुने दबाब दिइरहेका छन् । तर इजरायलले कसैको दबाब पनि स्वीकार नगरेको राष्ट्रसंघको आरोप छ ।
सैन्य कारवाही तत्काल बन्द गर्न र मानवीय सहायतामाथि लगाइएको प्रतिबन्ध हटाउन इजरायललाई बेलायत, फ्रान्स र क्यानडाले चेतावनी दिएका छन । इजरायलका प्रधानमन्त्री बेन्जामित नेतान्याहुले भने हमासले सबै बन्दी रिहाइ नगरेसम्म युद्ध नरोकिने चेतावनी दिएका छन् ।
गाजामा इजरायलको सैन्य कारबाहीलाई लिएर बेलायतले व्यापार वार्ता स्थगित गर्ने बताएको छ । गाजाको दीर्घकालीन मानवीय संकटलाई सम्बोधन शुरू गर्न प्रति दिन ६ सय ट्रक आवश्यक पर्ने अनुमान गरिएको छ । तत्काल खाद्यान्न वितरण हुन नसकेमा १४ हजार शिशुले ज्यान गुमाउने चेतावनी राष्ट्रसंघले दिएको छ ।