काठमाडौ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन । आज महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताएका हुन । प्रमुख महर्जनले राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्था रहेको उल्लेख गरे ।
नगरप्रमुख महर्जनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियार धाउनुपरेको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको जानकारी दिए ।
निर्देशक भट्टले विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरेमात्रै सफलता प्राप्त हुने उल्लेख गरे । ललितपुर महानगरलालिकाबाट शुरु भएको स्वयंसेवक परिचालन आधारभुत तालिमलाई सबै पालिका स्तरमा पु¥याइने उनको भनाइ छ।