काठमाडौं । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा गत आर्थिक वर्ष २०८१/८२ दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार सात सय ८६ र अन्य देशका एक लाख २० हजार तीन सय २७ पर्यटक रहेका छन् । एक वर्षको अन्तरमा ५५ हजार एक सय ३३ पर्यटक बढेका छन् ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी चैत महिनामा ४४ हजार नौ सय ७७ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका थिए । सबैभन्दा कम साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका थिए ।
यस्तै, भदौमा १३ हजार दुई सय ७९, असोजमा ३० हजार सात सय ३२, कात्तिकमा ३३ हजार तीन सय १०, मङ्सिरमा १४ हजार ११, पुसमा १४ हजार ३३, माघमा ९ हजार ३४, फागुनमा १९ हजार चार सय ७०, वैशाखमा ४१ हजार आठ सय ५३, जेठमा ३१ हजार नौ सय ५५ र असारमा १९ हजार सात सय ४९ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।
दुई मुख्य पर्यटकीय याम असोज–कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । सोही याममा धार्मिक भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको छ ।
कोभिड–१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको छ । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य हो । वर्षात् र जाडोयाममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सयमयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । सडक मार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । कार्यालयले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।