एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ ।
युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदम विधिसंवत नरहेको भन्दै सर्वोच्च अदालतले रोक लगाएको हो । अदालतको यो निर्णयले राष्ट्रपति ट्रम्पलाई ठूलो झट्का लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्रम्प प्रशासनले सन् १७९८ को कानून ब्यूँताएर भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोरको जेल पठाइरहेको छ । अदालतले आप्रवासीहरूबारे थप अनुसन्धान नै नगरी मापदण्डविपरीत जेल पठाउनु गलत हुने बताएको छ ।
सर्वोच्चले ट्रम्प प्रशासनको काममा रोक लगाउँदै मुद्दाको अन्तिम निर्णय गर्न न्यू अर्लिन्समा रहेको फिफ्थ सर्किट कोर्ट अफ अपिल्समा पठाएको छ । आदेशपछि राष्ट्रपति ट्रम्पले अदालतको आलोचना गरेका छन् । उनले फैसला राष्ट्रका लागि चिन्ताजनक र खतरापूर्ण देखिएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले यस निर्णयले गम्भीर आपराधिक क्रियाकलापमा संलग्न, गिरोहसँग आवद्ध तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त आप्रवासीहरूलाई पनि निष्कासन नगरी लामो कानूनी प्रक्रियामा राख्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।