मुख्य समाचार

मनसुन सुरु भएयता बाढीपहिरोमा २४ जनाको मृत्यु, २५ जना बेपत्ता

मनसुन सुरु भएयता बाढीपहिरोमा २४ जनाको मृत्यु, २५ जना बेपत्ता

गृह मन्त्रालयले नेपालमा मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोमा परेर २४ जनाको मृत्यु र २५ जना बेपत्ता भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको छ । नेपालमा जेठ ३० देखि मनसुन सुरु भएको हो । पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र पाँच बेपत्ता तथा १३ जना घाइते भएको मन्त्रालयअन्तर्गतको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । पहिरोबाट मृत्यु हुनेमा ११ पुरुष र चार महिला छन् ।  निरन्तर वर्षापछि आएको पहिरोबाट ४ सय ५४ जना परिवार प्रभावित भएको प्रतिकार्य शाखाको विवरणमा उल्लेख छ । यस्तै, बाढीबाट ९ जनाको मृत्यु र २० बेपत्ता भएका छन्। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला  र पहिचान हुन नसकेका एक जना रहेको गृहको विवरणमा जनाइएको छ । बाढीपहिरोका कारण १ सय १२ घरपरिवार प्रभावित भएका छन् ।  बाढीबाट हालसम्म ४ करोड ६६ लाख ३० हजार र पहिरोबाट १३ लाख ४१ हजार पाँच सय बराबरको धनमाल नष्ट भएको छ । मुलुकभरका ७७ जिल्लामध्ये अहिलेसम्म संखुवासभामा बाढीपहिरो क्षति बढी रहेको छ । बाढीपहिरोका कारण संखुवासभामा तीनको मृत्यु र १९ बेपत्ता छन् । पाँचथरमा आएको बाढीमा परेर तीन जनाले ज्यान गुमाएका छन् भने तीनै जना बेपत्ता भएका छन । यसैविच  नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक सञ्जालमार्फत उक्त निर्देशन दिएका हुन । उनले वर्षायाममा आउने बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपप्रति उच्च सतर्कता अपनाउन, र राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न समेत सबैमा अनुरोध गरेका छन ।। 

<iframe width="654" height="480" src="https://www.youtube.com/embed/F4po6DxiWNE" title="मनसुन सुरु भएयता बाढीपहिरोमा २४ जनाको मृत्यु, २५ जना बेपत्ता" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>