काठमाडौं । माओवादी केन्द्रले आजदेखि‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ थाल्दैछ ।
सुदूरपश्चिमको बैतडीस्थित पाटनबाट शुुरु हुने अभियान उदघाटन गरिने माओवादी केन्द्रले जनाएको छ । अभियानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू बैतडी पुगिसकेका छन् ।
जेठ महिनाभरि अभियान सञ्चालन गर्ने माओवादीको लक्ष्य छ । कार्यक्रमको स्वरूप अनुसार मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले एक एक स्थानमा जनसभा आयोजना गर्नेछन् ।
त्यस्तै, जिल्ला समन्वय समितिहरूले एक एक स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन् । कोशी प्रदेशका जिल्लाहरूमा हाल भइरहेको जनसभाहरूलाई यसै अभियानको हिस्सा बनाइनेछ र बाँकी जिल्लाहरूमा उपयुक्त समयमा जनसभाहरू गरिने माओवादी केन्द्रले जनाएको छ । अभियान मार्फत माओवादीले मध्यपहाडी लोकमार्गसँग जोडिएका जनसमुदायसँग प्रत्यक्ष संवाद, राजनीतिक सन्देश प्रसार तथा स्थानीय समस्या पहिचान गर्न खोजेको जनाएको छ ।
यसअघि माओवादीले हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादीः तराई मधेस जनजागरण अभियान सञ्चालन गरेको थियो ।