काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।