काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्याउन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।