काठमाडौं । प्रतिनिधिसभा बैठक शुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
दुवै दल ५९ दिनदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् । उनीहरूको अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । आफ्नो अवरोधको अर्थ नभएपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक बहिस्कार गरेका छन् ।
आजको बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने छन् ।