काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गत वर्ष भएको सौर्य एयरलाइन्सको सीआरजे–२००, (एन–एएमई) विमान दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ ।
१ साउन २०८१ का दिन मर्मतका लागि पोखरा उडेको सौर्यको उक्त जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पाँच सदस्यीय विमान दुर्घटना अनुसन्धान आयोगले करिब एक वर्षको विस्तृत अनुसन्धानपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा विमानमा चालकले धावनमार्गबाट टेकअफ गर्दा जहाजको तौल र स्पिडको सन्तुलन नमिलेको उल्लेख छ । प्रतिवेदनका अनुसार, विमानले टेक–अफ गर्दा आवश्यकभन्दा निकै तलको ‘रोटेसन स्पिड’ र अत्यधिक तीव्र पिच गर्दा ५० देखि १०० फिट उचाइमै विमान असन्तुलित हुँदै पूर्वतर्फ झरेर विमानस्थल परिसरमै दुर्घटना भएको हो ।
यस्तै, यात्रु र सामान व्यवस्थापनमा पनि गम्भीर लापरबाही भएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबबिना आयोगले निष्पक्ष प्रतिवेदन तयार पारेको जनाउँदै मन्त्रालयले त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने बताए । दुर्घटनामा एकजना पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको ज्यान गएको थियो ।
क्याप्टेन मनीषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो ।