एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी एलन मस्कको सम्बन्धमा तनाव देखिएको छ ।
लामो समयदेखि देखिँदै आएको मतभेद अहिले सार्वजनिक विवादमा रूपान्तरित भएको हो । मस्कले ट्रम्पको खर्च विधेयकप्रति असन्तुष्टि जनाउँदै सो विधेयकलाई गैरजिम्मेवार र राष्ट्रको दीर्घकालीन आर्थिक स्थायित्वविरूद्ध भएको आरोप लगाएका छन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए। मस्कलाई संघीय खर्च नियन्त्रणका लागि प्रशासनमा जिम्मेवारी दिइएको भएतापनि सो उद्देश्य अनुसार मस्कले काम गर्न नसकेको बताएका छन् ।
जवाफमा मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् राष्ट्रपति ट्रम्पको आलोचना गर्दै एकपछि अर्को आक्षेप लगाएका छन । ट्रम्पको नाम दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित अप्रकाशित कागजातहरूमा हुनसक्ने दाबी गरेपछि दुईबीचको विवाद झन् चर्किएको समाचारमा उल्लेख छ ।
यस दाबीलाई अस्वीकार गर्दै ट्रम्पले मस्कलाई मानसिक रूपमा अस्थिर व्यवहार देखाएको आरोप लगाएका छन् । मस्कका कम्पनीहरूसँग रहेका सरकारी ठेक्काहरू समेत पुनरावलोकन गरिने ट्रम्पको चेतावनी छ । विवादले शुक्रबार टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको र कम्पनीको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा तल झरेको छ ।