काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनबारे छलफल हुँदैछ ।
दिउँसो एक बजे बस्ने बैठकमा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि छलफल हुने भएको हो । समितिले आवश्यक ठानेका व्यक्ति वा पक्षसँग समेत कुराकानी गर्ने तयारी गरेको छ ।
यसअघि वैशाख २१ गते बसेको बैठकमा राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि सांसदहरूलाई वितरण गरिएको थियो । लिङ्देन नेतृत्वको समितिले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चीनको एक्जिम बैंकबाट २१ दशमलब ६ करोड अमेरिकी डलर अर्थात करिब ३० अर्ब नेपाली रुपैयाँ ऋण लिएर निर्माण गरिएको हो ।