समाज

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

काठमाडौं । ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ मेचीनगर नगरपालिकाले महिला सीप विकास केन्द्रको निर्माण गरेको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाको तीन करोड ५० लाख रुपैयाँको लागतमा केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याएको हो । मेचीनगर नगरपालिकाभित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने उद्देश्य लिएर भवन निर्माण गरिएको छ । 

मेचीनगर–८ मा निर्माण भएको भवन नगर गौरवका योजना मध्येको एक रहेको छ । सीप केन्द्रमा महिलाहरूले उत्पादन गरेका सामग्री बजारीकरणमा नगरपालिकाले नै सहकार्य गर्ने छ । 

नगरपालिकाको गौरवको योजना अन्तर्गत २०७४ सालदेखि भवन निर्माणका लागि शुरु भएको तालिम केन्द्र यसपटक सम्पन्न भएको हो । केन्द्रमा ज्येष्ठ नागरिक महिलाहरूलाई पातको दुनाटपरी, लाखबत्तीलगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्री वितरण गर्ने नगरपालिकाको लक्ष्य छ ।

यस्तै, महिलाहरूको लागि कम्प्युटर तालिम, आयआर्जनका विभिन्न सीपमूलक तालिम मायाको चिनो, सजावटका सामान, ब्याग, फूलदानी, ढाका बुन्नेलगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगरपालिकाले ढाका बुन्ने तीन महिने तालिमको शुरुवात गरिसकेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *