एजेन्सी । इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी अन्य १४ जना बेपत्ता भएका छन् ।
इन्डोनेसियाको सुदूर पूर्वी क्षेत्रमा रहेको एक सुनखानी नजिकै आएको बाढी र पहिरोमा परी कामदारहरुको मृत्यु भएको हो । उद्धारकर्मीले बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीको पानी खनिकहरूले प्रयोग गर्ने शिविरमा पसेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीको पानीले परम्परागत सुन खानीमा काम गर्नेहरूको अस्थायी आवास क्षेत्रमा क्षति पुर्याएको छ । उनीहरूका टेन्ट र उपकरणहरू पनि बाढीले बगाएको छ । गत सेप्टेम्बरमा पश्चिम सुमात्रामा रहेको अवैध सुन खानीमा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
इन्डोनेसियाको सुलावेसी टापुमा गत वर्षको जुलाइमा गएको पहिरोमा परी त्यहाँ रहेको अवैध सुनखानी नजिकै कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।