राजनीति

काँग्रेसको आगामी नेतृत्व, गठबन्धन, युवा स्वरोजगार लगायतमा नेता कोइरालाको चासो

काँग्रेसको आगामी नेतृत्व, गठबन्धन, युवा स्वरोजगार लगायतमा नेता कोइरालाको चासो

काठमाडौ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको पहिलो कार्यभार निरस जनतामा आशा जगाउनु रहेको बताएका छन्  । कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहिवार बोल्दै कोइरालाले केन्द्र, प्रदेश र स्थानीय सरकारहरुको काम कारवाहीलाई प्रभावकारी बनाएर जनतामा आशा जगाउनु रहेको बताएका हुन् ।  उनले  सम्पत्ति छानविनलाई भ्रष्टाचार नियन्त्रणको प्रस्थान विन्दु बनाएर अघि बढ्नु् पर्ने बताए ।  । 

 उनले युवाहरुको विदेश पलायन रोक्न र  उनीहरुको श्रम, सीप र पूँजी देशभित्र उपयोग गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।  यसका कार्ययोजना निर्माणमा नेपाली कांग्रेसले अगुवाई गर्नुपर्ने उनको भनाई थियो ।  
उनले अन्य दलहरुसंग गठबन्धन गर्दा धोका  खाएको भन्दै पार्टीलाई आत्मनिर्भर बनाउन आग्रह गरे। 

पार्टीका आगामी नेतृत्वको बारेमा पनि संक्षेपमा उनले आफ्नो धारणा राखे । 

"यो सबैलाई थाहा भएको कुरा भनेर म समय लिन्नँ । तर, सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरुले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनैपर्छ ।

मैले प्रवृत्तिको कुरा गरेको हो । अब एउटा नमीठो विषयमा पनि चर्चा गर्न चाहन्छु ।

विनोद चौधरीले आफूलाई अब्बल मानिस भन्नुभयो । वास्तवमा उहाँ अब्बल नै हो । नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा उहाँको ठूलो योगदान छ । उहाँजस्तो अब्बल मानिस विवादमा पर्नुभएकोमा मलाई दुःख लागेको छ ।  अब म जे भन्न गइरहेको छु, विनोद चौधरीको विरोध गरेको नठानियोस् । म उहाँको प्रशंसक नै हो । पार्टीको सांसद्का रुपमा उहाँ जति सफल बन्नुहुन्छ, हाम्रो पार्टी त्यति सफल हुन्छ । म फेरि पनि भन्छु, उहाँ अब्बल मानिस हो । यति अब्बल मानिसले अलि हाइ लेभलको स्तरीय राजनीति गर्नुहुन्छ भन्ने मलाई लागेको थियो र अझै पनि लागेको छ ।

विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जवाफमा विनोदले आठवटा प्रश्न उठाउनुभयो । शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरु संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो । कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो । शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो रु उहाँलाई मत दिने सबै संकीर्ण हुन् रु याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो । कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरु उच्च कदर गरिन्छ । चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गर्नुभएको हो तर शेरबहादुरले जित्नुभयो ।

शेरबहादुर देउवा सभापति बन्नुभएपछि केके भयो रु त्यो पनि हेरौं । अघिल्लो कार्यकालमा पनि देउवा सभापति हुनुहुन्थ्यो । उहाँलाई केन्द्रीय समितिको वैठक चलाउन सजिलो थिएन । टेबल ठोकिन्थ्यो, वैठक चल्न दिइँदैनथ्यो, वैठक बहिष्कार गर्छौं भनिन्थ्यो । पार्टी चलाउन उहाँलाई धेरै गाह्रो थियो । त्यस अघि सुशील कोइरालाको पालामा पनि पार्टी चलाउन गाह्रो थियो । पहिले पहिले यति सजिलोसँग पार्टी चल्थ्यो रु यति सजिलोसँग वैठक चल्थ्यो रु इतिहासमै यति सजिलोसँग पार्टी चलेको, वैठक चलेको अहिले हो । र, यो सबै निकटतम् प्रतिस्पर्धी शेखर कोइरालाको कारणले हो । विगतमा निकटतम प्रतिस्पर्धीले सभापतिलाई कति दुःख दिन्थे भन्ने सम्झनुहोस् र अहिलेको अवस्था पनि हेर्नुहोस् । यति उदार र सहयोगी शेखर कोइरालालाई संकीर्ण भन्न मिल्छ रु यो कुरा पनि ध्यान दिन अनुरोध छ ।

हाम्रा नेताहरु मानिस हो, अनेक कमजोरी छ तर उहाँहरुमा छुद्रता र संकीर्णता छैन भनेर म ठोकेर भन्न सक्छु । हाम्रा नेताहरुको उदारता नदेख्ने तर संकीर्णता मात्र देख्ने प्रवृत्ति पनि ठिक होइन भन्ने मेरो ठम्याइ छ ।" कोइरालाले बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *