नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वमा १५ हजार हेक्टर क्षेत्रफलमा बर्खे धानको रोपाइँ सकिएको छ ।
साउन ६ गतेसम्म जिल्लामा धान खेती हुने क्षेत्रफलमध्ये १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । मनसुन चाँडो भित्रिएको भनिए पनि जिल्लामा नियमित वर्षा नहुँदा धान रोपाइँ ढिलाइ भएको हो ।
जिल्लामा यस वर्ष १८ हजार सात सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको काफ्लेको भनाइ छ । जिल्लामा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८० दशमलव दुई प्रतिशत भागमा रोपाइँ भएको छ ।
वर्षा भएमा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने अपेक्षा गरिएको छ । जिल्लामा धान खेती हुने कुल क्षेत्रफलको करिब ५५ प्रतिशत भागमा मात्रै सिँचाइ सुविधा पुगेको छ । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जम्मा १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा बर्खेधान खेती गरिएकोमा ७१ हजार एक सय २० मेट्रिक टन उत्पादन भएको थियो ।
धान उत्पादन बढाउनका लागि कृषि ज्ञान केन्द्र नवलपुरले किसानलाई चैतेधानतर्फ आकर्षित गर्न बिउमा अनुदानसँगै सिँचाइको सुविधा पुर्याउँदै आएको छ । बर्खे धानमा रोग कीराको प्रकोप ज्यादा हुने र चैते धानमा रोग कीराको प्रकोप कम हुने भएकाले बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने गरेको छ ।