ताप्लेजुङ । नापी कार्यालय ताप्लेजुङमा राजस्व संकलन वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष करिब दोब्बरले राजस्व संकलन भएको हो । नापी कार्यालय ताप्लेजुङका प्रमुख नापी अधिकृत रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपैयाँ राजस्व संकलन भएको छ ।
श्रेष्ठका अनुसार क्षेत्रिय किताब उतारमार्फत चार हजार ९८०रुपैयाँ, नक्सा बिक्रीमार्फत पाँच लाख ७३ हजार ६१०, फिल्ड रेखांकनबाट २२ लाख ६५ हजार ६२५ र कित्ता एकीकरणबाट दुई हजार ६ सय रुपियाँ राजस्व रेखांकनबाट संकलन गरिएको छ ।
कार्यालयले स्थानीय तहसँगको फिल्ड रेखांकनमा राजस्व अनिवार्य गरेकाले झण्डै दोब्बरले वृद्धि भएको नापी अधिकृत श्रेष्ठले बताइन् । १३४ वटा क्षेत्रीय किताब उतार, पाँच हजार १६० ओटा नक्सा बिक्री, दुई सय वटा फिल्ड रेखांकन र ३६ वटा कित्ता एकीकरण गरेको कार्यालयले जनाएको छ । चार सय ५१ वटा कित्ताकाट कार्य समेत भएको जनाइएको छ । जसमध्ये राजिनामाको दुई सय २३ वटा अंशबण्डाको १०९ नौ वटा, अदालतको ५२ र बकसपत्रको ६७ वटा कार्य भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आर्थि वर्षमा ११ लाख ९१ हजार ९८८ रुपैयाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ ।