काठमाडौं।
भोटोकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ अल्ट्रा रनर रसिला तामाङको संयोजकत्वमा ‘फ्लड रिलिफ १० के ट्रेल रन’ आयोजना हुने भएको छ।ट्रेलमाण्डुको आयोजनामा शनिबार हुने ट्रेल रनमा स्वदेशी तथा विदेशी गरी ३० भन्दा बढी अल्ट्रा रनरले सहभागिताका लागि दर्ता गरिसकेका छन्।
स्वयम्भूबाट सुरु हुने दौड इचंगु, सेतो गुम्बा हुँदै पुनः इचंगुबाट सुरु भएको स्थानमै आएर सम्पन्न हुनेछ।दौडबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजक तथा संयोजक रसिला तामाङले जानकारी दिएकी छन्।रसिला केही दिनअघि मात्रै स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा दुई महिना प्रशिक्षण लिएर नेपाल फर्किएकी हुन्। प्रशिक्षणकै क्रममा उनले फ्रान्समा आयोजित अल्ट्रा रेस प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्।सोही क्रममा जुनिपर ट्रस्टसँगको सहकार्यमा रसिलाले बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग समेत गरेकी थिइन्।

रसिला पछिल्ला दुई वर्षदेखि जुनिपर ट्रस्टसँगको सहकार्यमा जलवायु परिवर्तनसम्बन्धी अभियानमा समेत सक्रिय छिन्। एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका रसिलाले ट्रस्टसँगको सहकार्यमा पाँच हजार रुख रोप्ने अभियानमा समेत योगदान दिएकी छन्।बाढीपीडितको सहयोगसँगै खेलकुद, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस ट्रेल रनलाई अर्थपूर्ण पहलका रूपमा हेरिएको छ।