एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सेनाले हमासका प्रमुख मोहम्मद सिनवार मारेको दाबी गरेका छन् ।
मोहम्मद सिनवार इजरायलका मोस्ट वान्टेड व्यक्ति मध्ये एक तथा हमासका पूर्वनेता याह्या सिनवारका भाइ थिए । दक्षिणी शहर खान युनिसको युरोपेली अस्पतालको आँगन र वरपरका क्षेत्रमा मोहम्मद सिनवारलाई लक्ष्य गरी ठूलो आक्रमण गरिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यतिबेला २८ जनाको मृत्यु भएको जानकारी दिएको थियो । त्यही क्रममा उनी मारिएको इजरायलका प्रधानमन्त्री नेतन्याहुको भनाइ छ ।
हमासले भने सिनवारको मृत्युको पुष्टि वा अस्वीकार गरेको छैन । याह्या सिनवारको हत्या भने इजरायली सैनिकहरूले गत वर्ष अक्टोबरमै गरेका थिए ।