काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चार लेनमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष गरिने भएको छ ।
सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का अनुसार निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको हो ।
अहिले निर्माण कम्पनीले दाउन्ने खण्डमा काम गरिरहेको छ । दाउन्नेमा सडकका कारण यात्रीलाई समस्या परेकाले त्यहाँ ढलान गर्न जनशक्ति केन्द्रित भएका छन् । दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, दुई लेन सडक भएको ठाउँमा चार लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि अहिले दुई सय ७२ जना श्रमिक काम गरिरहेका छन् ।
सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको छ ।
