काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा आज काठमाडौं आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन् ।
नेपाल र भारत दुवै पक्षबाट उनको भेटघाटको औपचारिक तालिका सार्वजनिक नभए पनि उनले आजैदेखि भेटघाट थाल्ने स्रोतले अनलाइनखबरलाई बतायो ।
आज बिहान करिब नौ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनले आज नै परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
उनले सम्भवतः प्रधानमन्त्री बालेन शाहसँग पनि आजै शिष्टाचार भेटघाट गर्नेछन् । ‘प्रधानमन्त्री ज्यूसँग आज नै भेट्ने भनेर तालिकामा राखिएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो । कार्यव्यस्तता अनुसार आज नभए भोलि हुनसक्छ ।’
भारतीय विदेश सचिव मिश्रीले सरकारको नेतृत्वकर्ता दल रास्वपाका सभापति रवि लामिछाने, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललगायतसँग पनि शिष्टाचार भेट गर्ने तयारी गरेको स्रोतले बतायो । काठमाडौंमा भेटघाट सकेर भारतीय विदेश सचिव मिश्री भोलि कात्तिक १९ गते अपराह्न स्वदेश फर्किने छन् ।
‘बालेनको भारत भ्रमण छिट्टै’
केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।
नेपाल-भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन् ।
यही कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा गरिसकेको जानकारी नियमित पत्रकार भेटघाटमा दिएका थिए ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति ‘छिट्टै’ सार्वजनिक गर्ने तयारीमा छन् । छिट्टै भनिएको मिति विक्रम मिश्रीको यही भ्रमणपछि सार्वजनिक हुने स्रोत बताउँछ ।

