दीपक चालिसे
फ्रान्स । फ्रान्सको राजधानी मध्य पेरिसमा नेपाली खाना र स्वादलाई युरोपमा परिचित गराउने उद्येश्यले स्थापित पोखरा रेष्टुरेन्टले अहिले बिभिन्न परिकारका खानाहरु पस्किएर नेपाली मात्रै होइन बिदेशीलाई पनि आकर्षित बनाएको छ ।
सो रेष्टुरेन्टले आफ्नो नेपालीपन झल्काउँदै यहाँ विदेशीमाझ पनि छुट्टै पहिचान बनाएको छ । पोखरा रेष्टुरेन्टमा पाक्ने नेपाली परिकारलाई पेरिसको नगरपालिकाले आफ्नो नगर स्तरीय खानाको सूचिमा राखेको रेष्टुरेन्टका संचालक शिव शर्माले जानकारी दिए ।
पर्वतबाट फ्रान्स पुगेका शर्माले भारतीय रेष्टुरेन्टमा काम गर्दा सबैतिर भारतीय खानाको परिचय दिएको देखेर आफूलाई पनि नेपाल चिनाउने मन जागेर सम्पूर्ण नेपाली खाना चिनाउने र नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले सात वर्ष अघि रेष्टुरेन्टको स्थापना गरेको बताए ।
शुरुका दिनमा रेष्टुरेन्ट संचालनका सहज स्थिति नभएको अवस्थामा अहिले भने नेपाली मात्रै नभइ बिदेशी पनि नेपाली परिकारको खोजी गर्दे रेष्टुरेन्टमा आउने गरेको शर्माले बताए ।
शनिबार रेष्टुरेन्टमा सेलरोटी, नेपाली थाली, ढिडो र ठेकीमा जमाएको दही लगायत खानका लागि फ्रान्समा बसोबास गर्ने युरोपका बिभिन्न देशका नागरिकहरु आउने गरेका पनि शार्मले बताए ।

शर्माले रेष्टुरेन्टमा भित्ताहरु पनि नेपाल झल्काउने विभिन्न चित्र र मूर्तिहरुले सजाएर बिदेशमा रहेर पनि नेपालको झल्को दिनेगरी सजाएका छन् ।