काठमाडौं । पुण्यमाता खोलाको पुल भाँचिएर शुक्रबार रातिदेखि अवरुद्ध भएको बनेपा–नाला–भक्तपुर सडकखण्ड ह्युमपाइप राखेर खुलाइएको छ ।
अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानदेखि सवारी आवागमन शुुरु भएको हो ।
बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा ४५ वर्षअघि बनेको फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएको थियो । पुल भाँचिएपछि पूर्णरुपमा बन्द भएको आवागमन खुलेको प्रहरीले जनाएको छ ।
धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अहिले बैकल्पिक सडकमा सवारीको चाप रहेको छ । पुलको क्षमता भन्दा बढि तौलका टिपरहरु चल्दा पुल भत्केको बताइएको छ ।