गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलेको छ ।
शुक्रबार पाँचौ दिनमा जिल्ला सुरक्षा समिति समेतको पहलमा ताला खुलेको हो । नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले विद्यालयमा स्मार्ट बोर्ड खरिद विषयलाई लिएर असार ३० गते अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
स्मार्ट बोर्ड खरिदको लागि चैत २३ गते रुरुक्षेत्रको गाउँ शिक्षा समिति र २५ गते गाउँकार्यपालिकाबाट निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनमा प्रक्रिया नपुगेको भन्दै एमालेबाट निर्वाचित उपाध्यक्ष सहितका २८ जना जनप्रतिनिधिहरुले अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउनुका साथै एमालेले पालिकामा तालाबन्दी गरेको थियो ।
खरिद गरिएका बोर्डमा अनियमितता भएको एमालेको आरोप छ । अनियमितता भएको भनी अख्तियारमा उजुरी परेपछि अख्तियारले असारको ९ गते स्पष्टिकरण सोधेको छ । बिषय विवादित बनेपछि उक्त शिर्षकको रकम भुक्तानी भएको छैन ।
पालिकाले तालाबन्दी खोल्ने विषयमा सहजिकरण नगरेपछि जिल्ला सुरक्षा समितिको पहलमा नेपाल प्रहरी र नगर प्रहरीले ताला खोलेका हुन् । पाँच दिनसम्म पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी हुँदा सेवा प्रवाहमा असर परेको थियो । कर्मचारीको ग्रेड बृद्धिमा पनि असर पुगेको भन्दै जिल्लास्थित कर्मचारी संगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले आफुहरुले कतै पनि किर्ते काम नगरेको प्रतिक्रिया दिए । तालाबन्दी राजनीतिक बिषय भएकोले विवाद सामान्य भएमा आफुपनि आइतबारदेखि कार्यकक्षमै बसेर सेवा दिने उनले बताए । अब सकेसम्म आइतबार कार्यपालिकाको बैठक राखेर थप छलफल गरिने पाण्डेको भनाई छ ।
एमालेबाट निर्वाचित वडा नम्बर ६ का वडाध्यक्ष रोमनाथ पौडेलले प्रशासनको जबरजस्तीमा ताला खोलिएकोमा आफुहरुको असहमति रहेको बताए । उनले कार्यपालिका बैठकमा जाने वा नजाने भन्ने विषयमा पनि पार्टीमा छलफल गरेर निर्णय लिने बताए ।