काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् ।
जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ कङ्कालीमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाबकिताब गर्ने चेतावनी समेत दिए ।
उनले आफूहरूको लक्ष्य २०८४ मा पार्टीलाई एकल बहुमत दिलाएर देशको समृद्धि, विकास र सुशासन कायम गर्ने रहेको बताए ।
प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गर्ने बताए ।
उनले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराउने प्रतिवद्धता पनि जनाए ।