काठमाडौं । बङ्गलादेशमा जारी साफ बीस वर्ष मुनि महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ ।
ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो । बंगलादेशमा भएको खेलमा मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकको सफलता प्राप्त गरे भने समिक्षा मगर र कुसुम खतिवडाले एक–एक गोल गरे ।
नेपालले खेल शुुरु भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो । नेपालले नवौं मिनेटमा दोस्रो, १२ औं मिनेटमा तेस्रो, २३ औं मिनेटमा चौथो गोल गर्यो । पहिलो हाफमा नेपालले ६–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुई मिनेटभित्र नेपालले दुई गोल गर्दै नेपाल ८–० को फराकिलो अन्तरको जित निकाल्न सफल भयो ।
यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशबिरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्नेछ ।