बुटवल । बुटवलको ज्योतिनगर क्षेत्रका बासिन्दा बर्षातको समयमा पहिरोको त्रासमा बस्न बाध्य छन् । पहिलो पटक २०५५ सालमा पहिरो जाँदा ५७ वटा घर पूर्ण क्षति भए यता स्थानीय सधैँ त्रासमा बस्न बाध्य भएका हुन् । अहिले पनि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका दर्जनभन्दा बढी घर जोखिममा रहेका छन् ।
२०७८ सालपछि घरपरिवार विस्थापित नै हुनेगरी पहिरो नगए पनि पहिरोको जोखिम कायमै रहेको जनप्रतिनिधिको पनि भनाइ छ । पहिरो रोकथामका लागि वडादेखि उपमहानगरले निरन्तर प्रयास गरिरहेको उनीहरुको दाबी छ ।
ज्योतिनगरवासीलाई मात्र नभएर बुटवल उपमहानगरपालिका वडा नं ४, ५ र ६ का साथै बुटवल बजारमा पर्ने सिद्धार्थ राजमार्गमा समेत असर पार्ने भएकोले पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले करोडौं रकम खर्च गरेको छ । ज्योतीनगरको पहिरो रोक्न संघीय सरकारले ठूलो लगानी गर्न आवश्यक रहेको उपमहानगरपालिकाको भनाइ छ ।।