काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिरमा मनसुन शुुरु भएपछि दर्शनार्थीको उपस्थिती निकै कम हुने गर्दछ । तर, यस वर्ष भने मनसुन शुुरु भएपनि मुक्तिनाथ मन्दिरमा उल्लेख्य मात्रामा दर्शननार्थी पुगिरहेका छन् ।
यस सिजन भने अपेक्षित वर्षा नभएको र सडकको अवस्था पनि सहज भईरहेकाले पर्यटकहरुको उल्लेख्य उपस्थिति भइरहेको मुक्तिनाथ विकास समितिले जनाएको छ । मुस्ताङमा मुख्यतया बर्सेनि असोज, कार्तिक, मंसिर, फागुन, चैत्र, बैशाख र जेठ महिनामा मुक्तिनाथ दर्शन गर्न आन्तरिक तथा बाहय पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्दछन् । तर, यसपालि बेमौसममा पनि आन्तरिक तथा बाह्य पर्यटक मुक्तिनाथ दर्शन गर्न आएपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
अफसिजनमा पनि यतिबेला मुक्तिनाथ मन्दिरमा उल्लेख्य संख्यामा भारतीय तथा नेपाली दर्शनार्थी पुग्ने गरेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । पर्यटक अफसिजनको समयमा सत्तरी प्रतिशत भारतीय र तीस प्रतिशत नेपाली दर्शनार्थीले मुक्तिनाथको दर्शन गर्ने गरेको समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको असार महिनामा स्वदेशी तथा विदेशी गरी कुल २६ हजार ६२६ जना दर्शनार्थी पर्यटक मुस्ताङ जिल्लामा भित्रिएको मुस्ताङ प्रहरीले जनाएको छ । जसमध्ये १२ हजार २६४ जना स्वदेशी र १४ हजार ३६२ जना विदेशी पर्यटक रहेका छन् ।
यसैगरी चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार २७ गतेसम्ममा स्वदेशी तथा विदेशी पर्यटक गरी कुल ७ लाख १ हजार १५९ जना दर्शनार्थी पर्यटक मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ । जसमध्ये स्वदेशी पर्यटक ५ लाख ५२ हजार १३६ जना र विदेशी पर्यटक १ लाख ४९ हजार २३ जना रहेका छन् ।