काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ ।
सत्तारुढ नेपाली कांग्रेसले सरकारका काम, पार्टीका भ्रातृ संस्थाको महाधिवेशनमा छलफल गर्न बैठक बोलाएको हो । तीन दिनसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सरकारमा कांग्रेसको सहभागिता प्रभावकारी नभएको, पार्टीभित्र आन्तरिक एकता कमजोर भएको गुनासो गरेका छन ।
पार्टीले संसदमा उठाइरहेका विषय र संसदको कामकारबाहीका विषयमा पनि प्रश्न उठेको छ । यसैबीच कांग्रेस बैठकले नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरूप मङ्सिर २६ देखि २८ गतेसम्ममा अनिवार्य सम्पन्न गर्ने गरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ ।
साथै बैठकले तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरुण दलको मौजुदा कार्यसमितिभित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीका तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । यससँगै तरुण दलका नेताले पार्टी कार्यालय सानेपामा थालेका आमरण अनशन स्थगित भएको छ ।