मुख्य समाचार

परराष्ट्र मन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्र मन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

जुम्ला ।  परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । 

टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । 

भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।    

मन्त्री राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइका मार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन् । 

भेटमा उनीहरूबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिक सम्बन्धी विषयमा पनि  कुराकानी डा. राणको सचिवालयले जनाएको छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *