काठमाडौं, असोज ८ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्स र पल्मबर पाइपबीच तीनवर्षे साझेदारी सम्झौता भएको छ ।
सम्झौताअनुसार जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ। सम्झौतामा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र कम्पनीका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरेका छन् ।
गत सिजन प्रमुख प्रायोजकका रूपमा जोडिएको पल्मबरले यसपटक साझेदारीको स्वरूप परिवर्तन गरे पनि कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो । मल्लले पल्मबरसँगको निरन्तर सहकार्यले टोलीलाई थप ऊर्जा मिल्ने बताए। जलानले साझेदारी ब्रान्ड प्रवर्द्धनसँगै नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान गर्ने उद्देश्यले अघि बढाइएको बताए । एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। कर्णाली याक्सले प्रतियोगिताका लागि विदेशी खेलाडी मार्क वाट र अक्बर अलीलाई समेत अनुबन्ध गरिसकेको छ।
