काठमाडौं । खेतीपातीमा राम्रो उत्पादन होस् भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा ‘यार्तुङ’ अर्थात् घोडेजात्रा शुरु भएको छ ।
यो पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् भन्ने कामना तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि पर्व मनाउने गरिएको हो ।
माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व पाँच दिनसम्म मनाउने चलन छ । विशेषगरी लामा नाचेर पर्व मनाउने गरिएको छ । विगतमा जिल्लाभरि मनाइने पर्व बसाइँसराइले गर्दा हाल माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको छ ।
यो पर्वलाई पाँच दिनसम्म उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन । घोडालाई भगवानको रूपमा पुजिन्छ । वर्षायाममा रोगव्याधिबाट जोगाउनु नै यो पर्वको विशेषता हो । तर युवा विदेशिनु, अध्ययन, जागिरलगायत कारणले गाउँ छोड्नु जस्ता कारणले सहभागिता घटेको छ ।