समाज

वर्षामा अवरुद्ध हुन नदिन बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा

वर्षामा अवरुद्ध हुन नदिन बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा

काठमाडौं । गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्यूपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।

बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छ्याउन ठूला बोल्डर ‘स्ट्याण्डबाई’ राखिएको कार्यालयले जनाएको छ । 

कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनःनिर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५÷१५ वटा उपकरणका साथै डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको छ  ।

नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनःनिर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो । 

क्षतिग्रस्त सडक नेपाल सरकारबाट  आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि  एक अर्ब बजेट सुनिश्चितता भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *