समाज

लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी निर्वाचन आयोगमा

लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी निर्वाचन आयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा संस्थापन र इतर पक्षबीचको विवाद चुलिएको छ ।  

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि पार्टी भित्र विवाद बढेको हो । असार २५ गते अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सोही दिन अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेपछि इतर पक्ष आक्रोशित भएको हो । 

अध्यक्ष लिङ्देनको यो निर्णय विधानसम्मत नभएको असन्तुष्ट पक्षको भनाइ छ । महामन्त्री धवल शम्शेर राणासहितले अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत भएको भन्दै शनिवार काठमाडौंमा भेला गरेको थियो । 

अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत रहेको भन्दै आज असन्तुष्ट पक्षले निर्वाचन आयोगमा ध्यानाकर्षण गराएका छन् । आज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् ।

सुवेदीलाई साथ दिँदै डा. धवल शमशेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् । आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी गर्न पुगेका हुन् ।

संस्थापन पक्षले भने अध्यक्षले उपाध्यक्षलगायत पदहरू विधान अनुसार मनोनीत गर्न सक्ने दाबी गरेको छ । अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई लक्ष्य गर्दै पार्टी परित्याग गरेको उनीहरुको भनाइ छ । 

नवराज सुवेदीले गत चैत्र ४ गते नै राप्रपा परित्याग घोषणा गरेको लिङदेन पक्षको भनाइ छ । राजसंस्था पुर्नस्थापनाको आन्दोलन अघि बढन नसकेपछि राप्रपामा बिबाद बढदै गएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *