विराटनगर । नेपाली कांग्रेसका नेता नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सेटिङमा भिजिट भिसामा जानेलाई पठाउने गरिएको र मोटो रकम घुस लिने गरिएको सार्वजनिक भएपछि गृहमन्त्री लेखक यो प्रकरणमा मुछिएका छन् ।
आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्नेसमेत बताए । यसअघि शनिबार विराटनगरमा नै काङ्ग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
नेता सिटौलाले विगतमा मन्त्रीहरुमाथि नै कुरो उठेकोले राजीनामा दिएको भए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।